गेटमा उभिएको अभिभावक, दमक बहुमुखी क्याम्पसका ‘काका’

✍️ निश्मा राई ।

शिक्षा केवल कक्षाकोठाभित्र सीमित हुँदैन। जीवनका केही महत्त्वपूर्ण पाठ पुस्तकका पानाभन्दा बाहिर, केही असाधारण मानिसहरूको व्यवहारबाट सिकिन्छ। हरेक शैक्षिक संस्थामा यस्ता पात्र हुन्छन्, जसले कुनै ठूलो पद ओगटेका हुँदैनन्, तर हजारौँ विद्यार्थीको मनमा स्थायी स्थान बनाएका हुन्छन्। उनीहरूलाई इतिहासका पानाले होइन, विद्यार्थीका स्मृतिहरूले अमर बनाइरहेका हुन्छन्।

दमक बहुमुखी क्याम्पसका ‘काका’ त्यस्तै एक पात्र हुनुहुन्छ।

२०७४ सालमा पहिलो पटक क्याम्पसको गेटबाट भित्र छिर्दा उहाँलाई देखेको थिएँ। त्यसयता धेरै वर्ष बिते। नयाँ विद्यार्थी आए, पुराना बिदा भए। शिक्षक फेरिए, प्रशासन फेरियो, क्याम्पसका धेरै दृश्य बदलिए। तर एउटा दृश्य कहिल्यै फेरिएन—गेटमा मुस्कुराउँदै उभिएर प्रत्येक विद्यार्थीलाई स्वागत गर्ने र विदाइ गर्ने काका।

आज २०८३ सालसम्म आइपुग्दा एउटा कुरा सम्झेर आफैँलाई अचम्म लाग्छ। मैले उहाँलाई कहिल्यै “तपाईंको नाम के हो?” भनेर सोधिनँ। उहाँले पनि मेरो नाम सोध्नुभएन। किनकि हाम्रो सम्बन्ध परिचयपत्रको नाममा बनेको थिएन। उहाँ हाम्रो सबैका लागि “काका” हुनुहुन्थ्यो, र त्यो सम्बोधन नै उहाँको सबैभन्दा ठूलो परिचय थियो।

विद्यार्थीहरूबीच एउटा रमाइलो भनाइ थियो—”काकाको अनुमति बिना गेट पार गर्न सकिँदैन।”

साँच्चै पनि उहाँ अनुशासनका कडा पहरेदार हुनुहुन्थ्यो। कक्षा बंक गरेर बाहिर निस्कन खोज्ने विद्यार्थीलाई उहाँले सहजै रोक्नुहुन्थ्यो। अत्यावश्यक काम भए शिक्षक वा विभागको लिखित अनुमति अनिवार्य हुन्थ्यो। कतिपयलाई त्यो नियम कडा लाग्थ्यो। तर आज जीवनको अर्को मोडमा उभिएर फर्केर हेर्दा लाग्छ—त्यो कडाइ होइन, हाम्रो भविष्यप्रतिको उहाँको जिम्मेवारी थियो।

उहाँले मलाई कहिल्यै पाठ्यपुस्तक पढाउनुभएन। तर समयको मूल्य सिकाउनुभयो। अनुशासनको अर्थ बुझाउनुभयो। जिम्मेवारी भनेको के हो भन्ने व्यवहारबाट देखाउनुभयो। सायद उहाँको त्यो कडाइ नभएको भए हामीमध्ये धेरैले कक्षा बंकलाई सामान्य ठान्ने थियौँ।

हरेक बिहानको हाम्रो संवाद आज पनि कानमा गुन्जिरहन्छ।

“नानी, छोरी आइपुगिस्?”

“आइपुगेँ नि काका।”

“सन्चै छेस्?”

“सन्चै छु काका। अनि तपाईं?”

“म पनि सन्चै छु।”

यी शब्दहरू केवल औपचारिक अभिवादन थिएनन्। ती शब्दहरूमा एउटा अभिभावकको माया, चिन्ता र अपनत्व मिसिएको हुन्थ्यो। घरबाट टाढा हुँदा पनि क्याम्पसभित्र अर्को एउटा घर भएको अनुभूति गराउने संवाद।

एक दिनको घटना मेरो स्मृतिमा सदैव ताजा रहनेछ।

म हतारिँदै क्याम्पस पुगेकी थिएँ। काकाले मलाई रोक्दै भन्नुभयो, “नानी, यति पढ्नेले यस्तो लुगा लगाउँछन् त?”

सुरुमा मैले केही बुझिनँ। उहाँले मेरो हल्का ग्राउन्ड्स पाइन्टतर्फ संकेत गर्दै भन्नुभयो, “यति ठूली भइसक्यौ, यस्तो लुगा नलगा।”

त्यो टिप्पणी थिएन। त्यो आलोचना पनि थिएन। त्यो आफ्नै छोरीलाई सही बाटो देखाउने अभिभावकको स्नेहपूर्ण आग्रह थियो। मैले “हुन्छ काका” मात्र भनेँ। त्यसपछि मैले त्यस्तो पोसाक लगाएकी छैन।

उहाँसँगको सम्बन्ध केवल गेटमा हुने अभिवादनमा सीमित थिएन। कहिलेकाहीँ जीवनका दुःख–सुख पनि साटासाट हुन्थे। उहाँ आफ्ना अनुभव सुनाउनुहुन्थ्यो, म आफ्ना कुरा राख्थेँ। ती संवादहरूले मलाई पाठ्यपुस्तकले सिकाउन नसक्ने जीवनका धेरै सत्यहरू सिकाए।

आज समाजमा सफल मानिसहरूको चर्चा धेरै हुन्छ। तर सफल मानिस निर्माण गर्ने यस्ता मौन पात्रहरूको चर्चा विरलै हुन्छ। उनीहरू पुरस्कारको खोजी गर्दैनन्, प्रशंसाको अपेक्षा राख्दैनन्। उनीहरू आफ्नो कर्तव्यलाई नै सबैभन्दा ठूलो सम्मान ठान्छन्।

मेरो जीवन यात्रामा परिवार, शिक्षक र साथीहरूको जस्तै काकाको पनि अमूल्य योगदान छ। उहाँले मलाई अनुशासन सिकाउनुभयो, जिम्मेवारी सिकाउनुभयो र सबैभन्दा ठूलो कुरा—मान्छेलाई आफ्नो व्यवहारले जित्न सकिन्छ भन्ने पाठ सिकाउनुभयो।

आज पनि जब म दमक बहुमुखी क्याम्पसको गेट सम्झन्छु, भवनभन्दा पहिले एउटा मुस्कुराएको अनुहार आँखाअघि आउँछ। त्यो अनुहार कुनै कार्यालय सहयोगीको होइन, हजारौँ विद्यार्थीका मनमा बसेको एक अभिभावकको हो।

कहिलेकाहीँ इतिहासमा नाम लेखिने मानिसहरूभन्दा पनि ठूलो योगदान उनीहरूको हुन्छ, जसले निःस्वार्थ रूपमा अरूको भविष्य निर्माण गरिरहेका हुन्छन्। काका त्यही मौन इतिहासका एक जीवित पात्र हुनुहुन्छ।

उहाँप्रति हृदयदेखि नै सम्मान, कृतज्ञता र दीर्घायुको शुभकामना। तपाईंले रोप्नुभएको अनुशासन, माया र संस्कारको बीउ हामी विद्यार्थीहरूको जीवनमा सधैँ हराभरा रहिरहनेछ।

सलाम छ, काका!

प्रतिक्रिया दिनुहोस्