कमलनगर जेसीजको एघारौँ स्थापना दिवस सम्पन्न
कमल । झापाको कमलनगर जेसीजको एघारौँ स्थापना दिवस मंगलबार सम्पन्न भएको छ। कमल–५, पाडाजुङ्गीस्थित बनमारा क्याफेमा आयोजित कार्यक्रममा केक काटेर स्थापना दिवस मनाइएको हो।
कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम कमलनगर जेसीज वर्ष २०२६ का उपाध्यक्ष शम्भुप्रसाद निरौलाको संयोजकत्वमा सम्पन्न भएको थियो भने कमलनगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कमल कटुवालले अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले कमलनगर जेसीजको स्थापना र सक्रियताले कमल गाउँपालिकाको पहिचान निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कमलनगर जेसीजको स्थापनाले कमल गाउँपालिकाको नामकरणका लागि समेत सहज वातावरण निर्माण भएको उहाँको भनाइ थियो।
उहाँले कमलनगर जेसीजका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष स्वर्गीय रूपनारायण न्यौपानेको योगदानको स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्नुभयो। आगामी दिनमा पनि गाउँपालिकाले कमलनगर जेसीजका सामाजिक तथा रचनात्मक गतिविधिमा आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थापना दिवसका अवसरमा कमलनगर जेसीजका पूर्व अध्यक्षहरू, वर्तमान पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।
कमलनगर जेसीजले स्थापनाकालदेखि नै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमा सकारात्मक परिवर्तनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।



