दूध तथा दुग्धजन्य पदार्थ र हालको अवस्था
– हरी अधिकारी
दूध तथा दुग्धजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको घोषणा गरिएता पनि घोषणाको चार वर्ष पुगिसक्दा समेत दुग्धजन्य पदार्थको आयात रोकिएको छैन ।
सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयात स्थगन गरेता पनि बजारमा प्रतिबन्ध लगाइएको दुग्ध पदार्थ यत्रतत्र भेटिने गरेको छ । दूध तथा दुग्ध पदार्थको स्टक/मौज्दात बढेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वि.सं. २०८० साल फागुन ३ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाउँदै आयात परमिट जारी नगर्न पनि भनेको थियो । खाद्य विभागले आयात परमिट जारी नगरेको दाबी गरे पनि वैध रुपमै करोडौं रुपैयाँको दुग्ध पदार्थ आयात भएको पाईएको छ, अवैध आयात पनि रोकिएको छैन ।
‘प्रायः डिपार्टमेन्ट स्टोरमा विदेशी दुग्ध पदार्थ भेटिन्छ । सीमा क्षेत्रमा कडाइ भएन । यही अवस्था रहे किसानको भुक्तानीमा समस्या उत्पन्न हुन सक्छ । प्रतिबन्ध लगाएको दूध जहीँतहीँ भेटिएपछि डेरी उद्योग संघले आयातित दुग्धपदार्थ रोकिदिन प्रहरी प्रशासनदेखि कृषिमन्त्री समेतलाई ध्यानाकर्षण गराएको थियो ।
‘प्रतिबन्ध हुँदाहुँदै पनि अवैध रुपमा सीमापारिबाट विदेशी ब्रान्डका स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, बटर, घिउ, होल मिल्क पाउडर, चिजजस्ता दुग्ध पदार्थ अनधिकृत रुपमा चोरीपैठारी भईरहेकैछ । व्यापारिक प्रतिष्ठानमा जहीँतहीँ खुल्लम-खुल्ला बिक्री वितरण भईरहेकै छ । अर्कोतर्फ स्वदेशी वस्तु बिक्री हुन नसकी किसानको भुक्तानीमा समेत असर परिरहेको छ ।
वि.सं. २०८० फागुन ३ मा कृषि मन्त्रालयले खाद्य प्रविधिमा पठाएको पत्रमा दुग्धजन्य पदार्थको मौज्दात र किसानले भुक्तानी नपाएको विषयलाई सम्बोधन गर्न ‘दूध तथा दुग्ध उत्पादनको सेफगार्डस्, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुरोध भएकोु जनाएको थियो । यतिमात्र नभई समस्याको समाधानका लागि दूध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने विभागीय मन्त्रीस्तरमा निर्णय भएको पत्र समेत पठाएको थियो ।
खाद्य स्वच्छताका आधारमा खान योग्य भए/नभएको आयात परमिट, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्दछ । पछिल्लो समय पशुसेवा विभागले समेत जारी गर्ने अधिकार पाएको छ । मन्त्रालयको निर्णयसँगै आयात परमिट बन्द हुनुपर्ने हो । तर हालसम्म पनि आयात रोकिएको छैन।
आर्थिक वर्ष २०८०/८१ मा ५० करोड ५ लाख ७ हजारको दुग्ध पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये ८१ हजार रुपैयाँको चिल्लो हटाइएको (स्कीम्ड मिल्क), ३ करोड ८९ लाख ९८ हजार रुपैयाँको चिनी वा अन्य गुलियो पदार्थ नहालिएको दुग्ध पदार्थ आयात भएको पाईएको छ ।
२ करोड ५५ लाख ५ हजार रुपैयाँको ह्वे र परिवर्तित जमाएको/नजमाएको, चिनी हालेको/नहालेको, गुलियो पारेको/नपारेको दुग्ध पदार्थ, ४ करोड ४ लाख ६० हजार रुपैयाँको नौनी बटर, १० लाख ३९ हजारको घिउ आयात भएको तथ्यांकमा उल्लेख छ ।
सामान्यतया दूध उत्पादनका हिसाबले कात्तिकदेखि चैतसम्म बढी दूध उत्पादन हुने सिजन हो । त्यसपछि सुख्खा सिजन सुरु हुन्छ । डेरीहरुले बढी दूध उत्पादन हुने सिजनमा दूध खरिद गरेर मिल्क पाउडर बनाउने गर्छन् । सुख्खा सिजनमा दूधको अभाव हुन नदिन पाउडर दूध मार्फत बजार तथा उपभोक्ताको मागलाई परिपूर्ति गर्दछन ।



