विद्यार्थीमा देशप्रेम र सामाजिक चेतना जगाउन ‘वीरताको गाथा’ चलचित्रको शैक्षिक प्रदर्शन गरिँदै

झापा । नेपालीपन, राष्ट्रिय भावना र नेपाली मनसँग जोडिएको ऐतिहासिक नेपाली चलचित्र ‘वीरताको गाथा’ विद्यार्थीमाझ शैक्षिक सामग्रीका रूपमा प्रस्तुत गरिने भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रलाई विद्यार्थीहरूमा देशप्रेम, सामाजिक चेतना, नैतिक मूल्य–मान्यता तथा राष्ट्रिय पहिचानप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक क्षेत्रमा जोड्न लागिएको हो।

लेट मी मिडिया प्रा.लि., कमलको संयोजनमा कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गीमा रहेको बनमारा क्याफेमा चलचित्रको प्रोमो प्रदर्शन, शैक्षिक अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा चलचित्रको विषयवस्तु, यसको शैक्षिक महत्त्व तथा विद्यार्थीहरूको सामाजिक जीवनमा पार्न सक्ने सकारात्मक प्रभावबारे छलफल गरिने अपेक्षा गरिएको छ।

पुस्तकीय ज्ञानसँगै व्यवहारिक, सामाजिक र राष्ट्रिय चेतनासँग सम्बन्धित विषयलाई शिक्षण–सिकाइ प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै चलचित्रलाई शैक्षिक सामग्रीका रूपमा उपयोग गर्ने अवधारणा अघि सारिएको हो। चलचित्रमार्फत विद्यार्थीलाई नेपालको इतिहास, वीरता, त्याग, समर्पण र राष्ट्रिय गौरवका विषयमा रुचि जगाउन सकिने विश्वास गरिएको छ।

विद्यालय तहका विद्यार्थीलाई मनोरञ्जनसँगै ज्ञान, प्रेरणा र जीवनोपयोगी सन्देश प्रदान गर्ने माध्यमका रूपमा चलचित्र प्रभावकारी हुन सक्ने भएकाले यस्ता सिर्जनात्मक सामग्रीलाई शिक्षण प्रक्रियासँग जोड्नु आवश्यक देखिन्छ। विशेषगरी विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सकारात्मक सोच, अनुशासन र देशप्रतिको माया अभिवृद्धि गर्न यस्ता प्रयासले योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

लेट मी मिडिया प्रा.लि.ले शैक्षिक तथा सञ्चारसम्बन्धी गतिविधिमार्फत विद्यार्थीको क्षमता विकास र सामाजिक चेतना अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यसहित कार्यक्रमको संयोजन गर्न लागेको हो।

चलचित्रको प्रोमो प्रदर्शन तथा शैक्षिक अन्तरक्रियाले चलचित्र क्षेत्र र शैक्षिक क्षेत्रबीच सहकार्यको सम्भावना बढाउनुका साथै विद्यार्थीको सिकाइलाई थप सिर्जनात्मक, रुचिकर र जीवनोपयोगी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्