साहित्य चौतारी गौरीगञ्जले मनायो २१३औँ भानुजयन्ती
गौरीगञ्ज, असार २९। साहित्य चौतारी गौरीगञ्ज, झापाको आयोजनामा २१३औँ भानुजयन्ती आज (सोमबार) विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ।
गौरीगञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुँवर) प्रमुख अतिथि तथा वडा नं. ३ का वडाध्यक्ष श्रवण गिरी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन गौरीगञ्ज माध्यमिक विद्यालयको चौरमा रक्तचन्दनको बिरुवा रोपेर गरिएको थियो। कार्यक्रममा गौरादह बहुमुखी क्याम्पसका प्राध्यापक खगेन्द्र न्यौपाने, साहित्यकार अर्जुन दङ्गाल तथा गौरीगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक केदार रिमालले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व तथा नेपाली भाषा–साहित्यमा उहाँले पुर्याउनुभएको योगदानबारे समीक्षा गर्नुभएको थियो।
साहित्यिक कार्यक्रममा विभिन्न कवि तथा कवयित्रीहरूले भानुभक्त आचार्यका रचना वाचन गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। वक्ताहरूले भानुभक्तका कृतिले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता कार्यक्रमले साहित्यिक चेतनाको विकासमा टेवा पुग्ने धारणा राखेका थिए।
कार्यक्रमको सभापतित्व प्रवेश श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन अभिषेक राजवंशीले गर्नुभएको थियो। सहयोगी मन ठेकिटोला सह–आयोजक रहेको उक्त कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




