माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सुरुङ्गा जेसीज सप्ताह सुरु
सुरुङ्गा, साउन १८ । सुरुङ्गा जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन कन्काई नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो।
सुरुङ्गा जेसीजकी अध्यक्ष मेनुका उप्रेती शिवाकोटीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष (निरुपित क्षेत्र ‘क’) योगेश राजवंशी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सप्ताह संयोजक ऋषभ सिंह चाहारले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रम संयोजक सुजता अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। पूर्व अध्यक्षहरू कुमारमणि पोख्रेल र जबिन तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए। तालिम निर्देशक सुस्मिता बास्तोलाले जेसीज आस्था वाचन गरेकी थिइन् भने कार्यकारिणी उपाध्यक्ष खुश्बू तिम्सिनाले जेसीजको मिसन तथा भिजन प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन महासचिव जेनिश चम्लागाईंले गरेका थिए।
प्रतियोगितामा कन्काई नगरपालिकाभित्रका १२ माध्यमिक विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष तथा सञ्चारकर्मी स्वस्तिका आचार्य, चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र थापा तथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्की रहेका थिए।
प्रतियोगितामा पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयकी दीपशिखा भेटवाल प्रथम, देवकोटा एजुकेशन फाउन्डेसनकी अनुष्का गुरागाईं द्वितीय तथा झापा मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयका सर्जक तिम्सिना तृतीय भएका थिए। विजयी प्रतियोगीहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगदसहित ट्रफी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ।
सुरुङ्गा जेसीजले जेसीज सप्ताह–२०२६ अन्तर्गत आगामी दिनहरूमा सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने जनाएको छ।



