कमल गाउँपालिकामा स्थानीय द्रुत प्रतिकार्य टोलीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा स्थानीय द्रुत प्रतिकार्य टोली (Rapid Response Team–RRT) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कमल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय झापा र आड्रा नेपालको समन्वयमा सञ्चालित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्या, स्वास्थ्य शाखाका कर्मचारीहरू तथा गाउँपालिकाका आठवटै स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घोषण तथा सहजीकरण स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहालले गर्नुभएको थियो भने विषयवस्तु प्रस्तुतिकरण तथा प्राविधिक सहजीकरण आड्रा नेपालका प्रदेश अधिकृत प्रवेश रिजाल र समीर भण्डारीले गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय द्रुत प्रतिकार्य समिति तथा टोलीको गठन, काम, कर्तव्य र अधिकार, महामारी तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पहिचान, जोखिम मूल्याङ्कन, अफवाह प्रमाणीकरण, प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन, वडा तथा सरोकारवाला निकायसँग समन्वय र प्रभावकारी प्रतिकार्यका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी, आपतकालीन चिकित्सकीय समूह परिचालन समितिको व्यवस्था, विपद्का विभिन्न चरणमा गर्नुपर्ने पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका कार्यहरू, आपतकालीन स्वास्थ्य योजना निर्माण, बहुनिकाय समन्वय, जनशक्ति तथा स्रोतसाधन व्यवस्थापन र प्रतिकार्य कार्यहरूको अनुगमन तथा अभिलेखीकरणसम्बन्धी विषयमा समेत सहजीकरण गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निगरानी (सर्भिलेन्स) गरिने रोगहरूबारे पनि जानकारी दिइएको थियो। जसअन्तर्गत अतिशीघ्र लुलो पक्षाघात (AFP), शंकास्पद दादुरा–रुबेला, नवशिशु धनुष्टंकार तथा एक्यूट इन्सेफलाइटिस सिन्ड्रोम (AES) को निगरानी, रोगसम्बन्धी सूचना सङ्कलन, विश्लेषण, समयमै सूचना तथा प्रतिवेदन सम्प्रेषण र रोग नियन्त्रणका लागि गर्नुपर्ने क्रियाकलापबारे सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले जनस्वास्थ्यसम्बन्धी महामारी, प्रकोप तथा विपद्को अवस्था जुनसुकै समयमा आउन सक्ने भएकाले त्यसको सामना गर्न स्थानीय तह सधैँ तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो। उहाँले महामारी तथा विपद्को समयमा समयमै सूचना प्राप्त गर्ने, जोखिमको पहिचान गर्ने र उपलब्ध जनशक्ति तथा स्रोतसाधनको प्रभावकारी परिचालन गरी नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्वास्थ्य संस्थाहरू तथा सम्बन्धित सबै सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

कार्यक्रमले कमल गाउँपालिकामा महामारी तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको समयमै पहिचान, शीघ्र प्रतिकार्य, प्रभावकारी समन्वय र व्यवस्थापनका लागि स्थानीय स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्