नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा दैलेखकी प्रतिमा खड्काको उम्मेदवारी
दैलेख । दैलेख जेसीज वर्ष २०२५ की अध्यक्ष प्रतिमा खड्काले नेपाल जेसीजको वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै उनले राष्ट्रिय नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेकी हुन् ।
तीन दशक उमेरसमेत नपुग्दै जेसीजको नेतृत्वदायी भूमिकामा स्थापित हुन सफल खड्काले स्थानीय तहमा हासिल गरेको अनुभव, उपलब्धि र संस्थागत योगदानलाई अब राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य लिएकी छन् । स्थानीय शाखामा रहँदा सिकेको अनुभवलाई उपयोग गर्दै देशभरका शाखाहरूबिच समन्वय र सहकार्य विस्तार गर्ने तथा संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ ।
शिक्षा, तालिम, सामाजिक सेवा तथा कला क्षेत्रमा सक्रिय खड्का युवा पुस्ताको नेतृत्व र क्षमता अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहँदै आएकी छन् । युवा नेतृत्वलाई केवल पद र जिम्मेवारीमा मात्र सीमित नराखी सीप, ज्ञान, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने उनको मान्यता छ । सोही अनुरूप युवालाई अवसर र उद्यमशीलतासँग जोड्दै सक्षम तथा जिम्मेवार नेतृत्व निर्माण गर्नु र जेसीजलाई सकारात्मक परिवर्तनको प्रभावकारी माध्यम बनाउनु उनको प्रमुख एजेन्डा रहेको छ ।
खड्काको नेतृत्वमा दैलेख जेसीजले स्थानीय व्यावसायिक क्षेत्र तथा सामाजिक संस्थाहरूबिचको सहकार्य विस्तारलाई विशेष महत्त्व दिएको थियो । सो अवधिमा स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने, नयाँ अवसर सिर्जना गर्ने तथा संस्थाको पहिचान र प्रभाव विस्तार गर्ने विभिन्न अभियानहरू सफलतापूर्वक सञ्चालन गरिएका थिए ।
सामाजिक तथा युवा अभियानमा खड्काको योगदान राष्ट्रिय स्तरमा समेत मूल्याङ्कन भइसकेको छ । यसअघि नेपाल सरकारको राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा काम गरिसकेकी खड्काले दैलेख जेसीजको अध्यक्ष रहँदा उत्कृष्ट कार्यसम्पादन गरेबापत काठमाडौँ जेसीज फाउन्डेसनबाट ५० हजार रुपैयाँ राशिको ‘यूथ डेभलपमेन्ट ग्रान्ट अवार्ड’ प्राप्त गरेकी थिइन् । यस्तै, नेपाल जेसीजले वर्ष २०२६ का लागि उनलाई ‘चिल्ड्रेन एन्ड यूथ कमिसन चेयरपर्सन’ (बालबालिका तथा युवा परिषद् अध्यक्ष) को जिम्मेवारीसमेत प्रदान गरेको छ ।



