तेह्रथुममा सवारी साधनको यान्त्रिक चेकजाँच कार्यक्रम सम्पन्न
तेह्रथुम, असार ३० – तेह्रथुममा साना तथा ठूला सवारी साधनहरूको यान्त्रिक चेकजाँच कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी (सुनसरी) को आयोजनामा जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर तथा यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त समन्वयमा मंगलबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
चेकजाँचका क्रममा सवारी साधनहरूको ब्रेक प्रणाली, स्टेयरिङ, टायरको अवस्था, बत्ती, सिग्नल, हर्न लगायतका यान्त्रिक पक्षहरूको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सडक सुरक्षामा असर पर्न सक्ने अवस्थाबारे चालक तथा सवारीधनीलाई आवश्यक सुझाव, परामर्श र सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको छ।
सडक दुर्घटना न्यूनीकरण, सुरक्षित तथा व्यवस्थित यातायात प्रणालीको प्रवर्द्धन र जिम्मेवार सवारी सञ्चालनको संस्कार विकास गर्ने उद्देश्यले यस्ता यान्त्रिक चेकजाँच तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ।




