गौरादह जेसीजद्धारा व्यावसायिक वक्तृत्वकला कार्यशाला कार्यक्रम सम्पन्न
गौरादह, असार २९ – गौरादह जेसीजको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.), गौरादह कृषि क्याम्पसको सह–आयोजनामा “Professional Speaking Workshop” सम्पन्न भएको छ।
गौरादह कृषि क्याम्पसको सभाहलमा आयोजित कार्यशालामा विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा व्यावसायिक वक्तृत्वकलाको विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। युवाहरूलाई आत्मविश्वासका साथ सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा गौरादहका शैक्षिक व्यक्तित्व भोजराज दाहाल प्रमुख अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रममा प्रशिक्षक दीपक सुबेदीले प्रभावकारी वक्तृत्वकला, प्रस्तुतीकरण सीप, नेतृत्व विकास तथा व्यावसायिक जीवनमा सञ्चार कलाको महत्वबारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थी, युवा तथा विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यशाला ज्ञानमूलक, व्यवहारिक तथा प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रम सफल बनाउन सहकार्य गर्ने स्वतन्त्र विद्यार्थी युनियनका सभापति स्वर्णिम अधिकारीसहित सम्पूर्ण स्व.वि.यु. टोली, सहयोगी संस्था Hello Miss Clothing, गौरादह–१, झापा तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति गौरादह जेसीजले आभार व्यक्त गरेको गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष धुव्रचन्द्र अधिकारीले बताउनुभयो ।
गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष धुव्रचन्द्र अधिकारीका अनुसार युवाहरूको व्यक्तित्व, नेतृत्व क्षमता तथा सीप विकासका लागि आगामी दिनमा पनि यस्ता प्रशिक्षणमूलक र रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइनेछ।
उक्त कार्यक्रमको संयोजन गौरादह जेसीज वर्ष २०२६ का उपाध्यक्ष भुमिका भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष सितल अधिकारीले गर्नुभएको थियो।





