नागढुंगा–मुग्लिन सडकको घोप्टेभीरमा दैनिक पाँच घण्टा आवागमन बन्द हुने

चितवन : नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिने बताइएको छ ।

घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको प्रशासनले जनाएको छ ।

थप जोखिम न्यूनीकरण गर्न सवारी आवागमन बन्द गरिएको समयमा जोखिमयुक्त ढुंगा र माटो हटाउने काम गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

सडकको अवस्था र आवागमनसम्बन्धी थप जानकारी तथा समन्वयका लागि प्रशासनले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १०० वा १०३ र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्