जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानहरू मार्सीधान रोप्न व्यस्त रहेका छन् । ८ वटै पालिकामा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । मार्सीधानको चामलले बजार पाउन थालेपछि किसानले खेती बढाएका कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।

सिञ्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली तथा रातो मार्सीधानको रोपाइँ धमाधम भइरहेको छ ।

जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सीधानको खेती हुने गरेको कार्यालयका प्रमुख अधिकारीको भनाइ छ ।

शुरूमा चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा रोपाइँ गरेको इतिहास छ । हरेक वर्षको जेठ १४ गते शेरा खेतमा रोपाइँ हुने गरेको छ ।

पछिल्लो समय पालिकाहरूले मार्सीको विस्तार र संरक्षणका लागि विभिन्न कार्यक्रम अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्