पथरी घटनाले दिएको सन्देश :बालबालिकालाई बच्न, बचाउन र सुरक्षित राख्ने उपाय
युवराज बास्कोटा
श्री पञ्चायत मावि कक्षा ७ मा अध्ययनरत गृहनगर पथरी शनिश्चरे नपा वडा नं. ७, लामाटोल निवासी वर्ष १४ को छात्रा ज्ञानमति राईको विभत्स हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।
सर्वप्रथमतः यो अत्यन्तै अमानवीय, क्रुर र बर्बर घटनाको घोरनिन्दा एवम् भत्सर्ना प्रकट गर्दै घटनामा संलग्न अपराधी, आपराधिक गतिविधिमा सामेल तत्व र हत्यारालाई कडाइसाथ कारबाही हुनुपर्ने माग राख्दै ज्ञानीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
पछिल्ला केही दिनयता एकपछि अर्का अप्रिय घटनाहरू घटिरहेकाछन् । यी कतिपय घटना र यसले प्रत्यक्ष पारेको प्रभावबाट मुख्यतः बालबालिकाहरू मनोवैज्ञानिक रूपमा गम्भीर प्रताडित भएकाछन् । समाजमा शान्ति, सुरक्षा अमनचैक कसरी कायम गर्ने ? सार्वजनिक महत्त्वका स्थल हिड्डुल गर्न, विद्यालय आउन–जान, छात्राबास रहन, निजी निवास आदि स्थानहरूमा बालबालिकालाई ढुक्कसँग कसरी छाड्ने ? गम्भीर प्रश्न उब्जाएको छ ।
बालबालिकालाई आफ्नो यौवनलाई कसरी बुझ्ने ? यसको व्यवस्थापन कसरी गर्ने ? पूर्णतः सुरक्षित रहन कस्ताकस्ता उपायहरू अपनाउने ? साथीभाइको घर जाँदा, सँगसँगै रहँदा, कुनै खुशी मनाउँदा, जन्मोत्सव मान्दा मनाउँदा के–के कुरामा ध्यान दिने ? कहाँसम्म र कोसँग जाने ? कहाँ–कहाँ र कस्तोकस्तो अवस्थामा नजाने ? आफूलाई असहज लागेको कुरा कहाँ कुसलाई राख्ने ? आवश्यक पर्दा सहयोग किन नगुहार्ने ? लत कुलत भनेको के हो ? यसको लक्षण विकास कसरी हुन्छ ? आदि जस्ता विषयोपर घरमा, विद्यालयमा, सार्वजनिक महत्त्वका ठाउँ थलाहरूमा सघन परामर्शसहित सचेतना कार्यक्रम चलाउन अत्यावश्यक भइसकेको छ ।
यसनिमित्त–
- शारीरिक विकास प्रक्रियामा केटा र केटी के हो भनेर चिनिन अर्थात् छुट्टिन सुरु गरेसँगै घटनाहरू घट्न थालेका छन् । यो भिन्नता थाहा पाउनासाथ हामी अभिभावकहरू स्वयं पनि बालबालिकाको लागि सर्वाधिक नजिकैको अविछिन्न साथी बनौँ !
- बालबालिकालाई अतिरिक्त काम, घरधन्दा र दायित्वभन्दा पनि हाम्रो आफ्नो काम सघाउने घनिष्ट साथीको रूपमा नजिकैबाट ग्रहण गरौँ !
- सम्पूर्ण रूपले विद्यालयको जिम्मामा, गुरुजनको जिम्मामा, ट्युसनको जिम्मामा, छात्राबासको जिम्मामा नछाडौँ !
- आमसञ्चारमा बढ्दो पहुँचलाई परिवेश सुहाउँदो प्रयोग, ज्ञानआर्जन, अध्ययन, खोज–अनुसन्धान, शुभेच्छामा आधारित संवाद आदानप्रदानको माध्यमको रूपमा प्रगोग गर्नमा जोड दिऔँ !
- अरुको देखासिकी गर्ने उमेरसमुह पनि बालिबालिकाको यो उमेर भएकोले समयसमयमा निगरानी गर्ने गरौँ !
- परस्पर झैँझगडा हुने, कुलतमा लाग्ने र हिंसात्मक व्यवहार प्रकट हुने पनि भएकोले हामी अभिभावकले पनि बालबालिका जाने, पढ्ने, घुम्ने, मनोरञ्जन आदि गर्ने ठाउँको बारेमा वस्तुगत अध्ययन गर्ने गरौँ !
- सकारात्मक अपेक्षाको प्रयत्नले कहिलेकाहिँ नकारात्मक परिणाम पनि दिन्छ । आफ्ना बालबालिकालाई कडा अनुशासनमा राख्ने निहुँमा बालबालिका अन्यमनस्क वा डिप्रेसनको बिरामी हुने तहमा व्यवहार नगरौँ !
- बालबालिका आफैंमा खराब हुँदैनन्, यदाकदा हुने भनेको तिनको व्यवहार मात्र हो । हाम्रा कारणले आएको व्यवहारका कारण बालबालिकासँग रिसाइरहने होइन, बरु खराब व्यवहारलाई सुधार्न तिनको ख्याल, निगाह–निगरानी, स्याहारसुसार, लालनपालन आदिमा ध्यान दिऔँ !
- बालबालिकालाई एक्लाएक्लै बनाउने अर्थात् पार्ने होइन, बरु कहिलेकाहिँ उनीहरू सँगसँगै मनोरञ्जनले आकर्षित समय बिताउने गरौँ |
(बास्कोटा श्री पञ्चायत मावि पथरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ )



