निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको अध्यक्ष हुकुम सिंह राईद्वारा निरीक्षण

कमल, ५ बैशाख । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा अध्यक्ष राईसँग प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, लखनपुर स्वास्थ्य चौकी प्रमुख बिषर्जन मोक्तान तथा पूर्वाधार प्राविधिक शाखाका इन्जिनियर मणि कुमार लिम्बू लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा अध्यक्ष राईले स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै छिट्टै मेडिकल अधिकृत (डाक्टर) सहित बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइने बताउनुभयो। यसबाट लखनपुर क्षेत्र अन्तर्गत कमल गाउँपालिका वडा नं. ५, ६ र ७ का साथै आसपासका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष राईले निर्माणाधीन भवनका बाँकी कार्यहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुका साथै स्वास्थ्यकर्मीहरूलाई सेवा विस्तारमा सक्रिय भई स्थानीय नागरिकले प्रत्यक्ष रूपमा सेवा सुधारको अनुभूति गर्ने गरी काम गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्