सांस्कृतिक विचलन र आमसञ्चार
-युबराज बास्कोटा
नेपाली समाजको सर्वाधिक राम्रो पक्ष भनेकै परस्पर निर्भर सांस्कृतिक सदाचरण, सहिष्णुता र सद्भावसहित मानवीय संवेदशीलताभित्र अक्षुण्य रूपमा अटाएको सहयोग र संवादको आदानप्रदान हो । पछिल्लो केही समययता परस्पर प्रगाढ मैत्रीभावमा बाँचेको समाजमा सांस्कृतिक विचलन सिर्जना गर्न कैयौं उपायहरू रचिने गरिएकाछन्, खोजिने गरिएकाछन् ।
यसमध्ये पहिलो हो– सार्वजनिक रूपमा मानिसको गाली बेइजेती । र, दोस्रो हो–आमसञ्चारको पहुँचमार्फत मानिसमा अनावश्यक टिप्पणी ।
अनावश्यक टिप्पणी गर्ने, प्रहार केन्द्रीत टिप्पणीमा रमाउने, हेलाँ र दुर्भावपूर्ण अभिव्यक्ति दिने, नग्याउने र होच्याउने लेखन प्रस्तुत गर्ने, व्यङ्ग्य र खिसिट्युरीजन्य अभिव्यक्ति असरल्ल छाड्ने आदि कर्म नयाँ र जोशिला भनिएका पात्र विशेषमा प्रवृत्तिगत ढंगले मौलाएको छ ।
आमसञ्चार अर्थात् फेसबुक– आमरूपमा सबकोहीको सहज पहुँच भएकाले गर्दा बिचार सम्प्रेषणको आधार हो, सद्भाव र शुभेच्छा आदानप्रदानको स्रोत हो, रुचिअनुसारको ज्ञानार्जनको एउटा माध्यम मात्र हो । योबाहेक अर्को कुनै बिजनेस होइन र छैन पनि ।
बिचार होइन, कुबिचार फैलाउने र यसैमा रमाउने, परस्पर झगडा र विद्वेष सिर्जना गर्नेतिर सामाजिक सञ्जाल अर्थात् आमसञ्चार लक्षित छ, परिचालित छ । कसैको घोचपेचमा कसैलाई आनन्द आउला तर परस्पर प्रेम बढ्दैन, लाइक कमेन्ट होला तर जनमत बन्दैन, कसैलाई मज्जा आउला तर कसैले स्याबास भन्दैन, निकृष्ट व्यवहारको मापनबाहेक केही हुन सक्दैन । आमसञ्चारमा गैरजिम्मेवारपूर्ण ढंगले उताउलो पारामा नकारात्मक अभिव्यक्तिका साथ रमाउने मानिस कहिल्यै आफ्नो हुन सक्दैन ।
हो, यहीँबाट सांस्कृतिक विचलन पनि सँगसँगै नराम्ररी आरम्भ हुन्छ । पठन अभावको विवेकहीन रमाउन सक्छ तर विवेकशीलले राम्रो मान्दैन, स्वयंमा मानिसको व्यक्तित्व विकास स्खलित हुन्छ ।



