नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा हेटौँडाका विकेश लाल श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । नेपाल जेसीजको सन् २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा सिनेटर विकेश लाल श्रेष्ठले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । सामूहिक नेतृत्व, संस्थागत एकता र सदस्यहरूको क्षमता विकासलाई मुख्य एजेन्डा बनाउँदै श्रेष्ठले देशको सबैभन्दा ठूलो युवा नेतृत्व विकास संस्थाको सर्वोच्च पदका लागि दाबेदारी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षा मात्र नभई नेपाल जेसीजलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउने साझा संकल्प भएको बताए । संस्थामा हरेक सदस्यको आवाज सुनिने, प्रत्येक शाखाले समान अवसर पाउने र नेतृत्वले सकारात्मक परिवर्तनको अनुभूति गराउने वातावरण निर्माण गर्ने उनको मुख्य प्रतिबद्धता रहेको छ ।

हेटौंडा जेसीजबाट सन् २०१८ मा साधारण सदस्यका रूपमा जेसीज अभियानमा जोडिएका श्रेष्ठसँग स्थानीयदेखि राष्ट्रिय तहसम्मको बलियो नेतृत्वदायी अनुभव छ । उनले सन् २०२४ मा हेटौंडा जेसीजको अध्यक्षको सफलतापूर्वक नेतृत्व सम्हालेका थिए । यस्तै, राष्ट्रिय तहमा सन् २०२५ मा नेपाल जेसीजको महासचिव र सन् २०२६ मा कार्यकारिणी उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

लामो सांगठनिक अनुभव र स्पष्ट कार्ययोजनासहित मैदानमा उत्रिएका श्रेष्ठले आफ्नो उम्मेदवारीलाई सम्पूर्ण जेसीजकर्मीको साझा उम्मेदवारीका रूपमा आत्मसात् गर्न आग्रह गरेका छन् । संस्थागत सुदृढीकरण र युवा सशक्तीकरणको यस अभियानमा साथ, सहयोग र समर्थनका लागि उनले देशभरका शाखा तथा जेसीजकर्मीलाई अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्