शिवसताक्षीको बालसेवा विद्यालयमा निःशुल्क दन्त शिविर, १५८ विद्यार्थीको परीक्षण

झापा : झापाको शिवसताक्षी–७, फत्तेपुरस्थित बालसेवा आधारभूत विद्यालयमा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। बालसेवा आधारभूत विद्यालयको आयोजना तथा दमकस्थित दमक थुलुङ डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।

शिविरमा १ सय ५८ जना विद्यार्थीसहित विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको दाँत तथा मुखको स्वास्थ्य परीक्षण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनका अनुसार शिविरमा दाँत परीक्षण गराउने विद्यार्थीहरूलाई मुखको स्याहार र सरसफाइबारे सचेतना जगाउँदै दाताहरूबाट प्राप्त मञ्जन (कोलगेट) तथा ब्रससमेत वितरण गरिएको थियो।

परीक्षणका क्रममा जटिल समस्या देखिएका ४१ जना विद्यार्थीको दाँत झिकिएको थियो। सहभागी विद्यार्थीमध्ये करिब ६० प्रतिशत बालबालिकामा तत्काल थप दन्त उपचारको आवश्यकता देखिएको परीक्षणमा संलग्न दमक थुलुङ डेन्टलकी सञ्चालिका एवं वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सोफिया थुलुङले जानकारी दिनुभयो। डा. थुलुङले साना बालबालिकाको दाँत तथा मुखको स्याहारबारे कक्षाकोठामै सचेतना जगाउनु अत्यावश्यक रहेको औँल्याउनुभयो।

सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर सञ्चालन गरी सहयोग पुर्‍याएको भन्दै विद्यालयले थुलुङ डेन्टल केयर सेन्टर तथा डा. सोफिया थुलुङलाई कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वेणु कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्