दमक जेसीजद्वारा दुई टोलमा लिङ्गे पिङ निर्माण गरी हस्तान्तरण
दमक – नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर दमक जेसीजले दमक नगरपालिकाका दुई स्थानमा परम्परागत लिङ्गे पिङ निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।
दमक जेसीजको आयोजनामा बिहीबार वडा नं. ८ स्थित आईतबारे टोल र वडा नं. ९ स्थित शुभबिहानी टोलमा एक–एक थान लिङ्गे पिङ निर्माण गरी शुभारम्भसहित सम्बन्धित टोल विकास संस्थालाई हस्तान्तरण गरिएको हो।
दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रमहरूमा वडा नं. ८ मा वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) र वडा नं. ९ मा वडाध्यक्ष कुबेरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले लोप हुँदै गएको मौलिक संस्कृतिको जगेर्ना गर्न युवाहरूले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। दमक जेसीजका अध्यक्ष बिमलीले नेपाली मौलिक चाडपर्व, धर्म तथा संस्कृतिको संरक्षण गर्दै चाडपर्वको रौनक समुदायस्तरसम्म पुर्याउने र युवाहरूको सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने उद्देश्यले पिङ निर्माण गरिएको बताउनुभयो।
कार्यक्रममा दमक जेसीज वर्ष २०१० का अध्यक्ष सिनेटर नेत्रप्रसाद चम्लागाईं, शुभबिहानी टोल विकास संस्थाका अध्यक्ष तथा रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष सन्दीप चापागाईं (दीपु), आईतबारे टोल विकास संस्थाका अध्यक्ष अमृत निरौला, बालुवाटार टोल विकास संस्थाका अध्यक्ष गणेश चौहान, सिनेटर मैना दाहाल लगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारी, स्थानीयवासी तथा जेसीज सदस्यहरूको उपस्थिति रहेको थियो।
दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष साजन श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रूबल अधिकारीले गर्नुभएको थियो।



