गौरादहमा स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु
गौरादह – झापाको गौरादह नगरपालिका–७, फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सर्जक एकता बोर्डिङ स्कुलको को. १ ख. ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरियालाई बुधबार साँझ घरमा ओराल्ने क्रममा किचेको हो । बालक उत्रिन नपाउँदै बस अगाडि बढाउँदा उनी लडेर चक्कामुनि परेका थिए ।
साँझ करिब ५ बजे भएको उक्त दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि बस र चालक गौरादह–७ का ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।



