कमलका विद्यालय शिक्षकका लागि आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न

कमल, २४ कार्तिक : झापाको कमल गाउँपालिकामा विद्यालय शिक्षकहरूका लागि आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।

मेची आँखा अस्पतालको आयोजना, आइ केयर फाउण्डेशनको आर्थिक सहयोग र कमल गाउँपालिकाको सहकार्यमा विद्यालय शिक्षकहरूका लागि आँखा स्वास्थ्य शिक्षा तालिम आज सोमबार कमल गाउँपालिका–५ स्थित मंगलमय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।

उक्त तालिममा गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य विद्यालय तहका शिक्षकहरूलाई आँखा स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्दै विद्यालय स्तरमै दृष्टि संरक्षण र प्रारम्भिक समस्या पहिचानमा सक्षम बनाउनु रहेको थियो।

तालिमको उद्देश्य शिक्षकहरूलाई आँखा स्वास्थ्यको आधारभूत ज्ञान प्रदान गर्दै विद्यालयमै प्रारम्भिक परीक्षण गर्न सक्ने क्षमता विकास गर्नु रहेको मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा प्रशिक्षक युवराज बोहोराले जानकारी दिनुभयो।

तालिमका सहजीकरणकर्ता स्वास्थ्य शिक्षा प्रशिक्षक युवराज बोहोरा र नेत्र अधिकृत पुण्यप्रसाद अधिकारीले आँखा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी, विद्यार्थीमा देखिन सक्ने सामान्य दृष्टि समस्या, विद्यालयमै गर्न सकिने प्रारम्भिक परीक्षण विधि तथा समयमै अस्पताल पठाउनुपर्ने अवस्थाबारे जानकारी दिनुभयो ।

उनीहरूले शिक्षकहरूलाई विद्यार्थीहरूको दृष्टि र प्रकाश व्यवस्थापनमा ध्यान दिन, अत्यधिक डिजिटल सामग्री (मोबाइल, ट्याब, कम्प्युटर) प्रयोगले दृष्टिमा पार्ने असरबारे सचेत रहन, र विद्यार्थीहरूलाई स्वस्थ दृष्टि व्यवहार सिकाउन सुझाव दिनुभयो।

कार्यक्रममा मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भने “आजको तालिम अत्यन्त उपयोगी र समयोचित छ। अब हामी सबै शिक्षकहरूले विद्यार्थी लक्षित आँखा परीक्षण कार्यक्रमलाई सफल बनाउन पूर्ण सहयोग गर्नेछौं।”

तालिममा सहभागी शिक्षकहरूले पनि तालिमबाट धेरै ज्ञान प्राप्त भएको बताउँदै आगामी स्वास्थ्य साक्षरताका कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् ।

साथै कार्यक्रमको अन्त्यमा सहभागी शिक्षकहरूलाई कमल गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत रविन गौतमले तालिम समापन प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले स्वास्थ्य शिक्षा र व्यवहारिक सिकाइलाई जोड दिँदै विद्यालयहरूले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्