ज्योति माविमा निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका–२, भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।

दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरूको दन्त स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काले यस्ता स्वास्थ्य सेवा कार्यक्रमले बालबालिकाको स्वास्थ्य सचेतना र समग्र विकासमा ठूलो योगदान पुर्‍याउने बताएका छन्। त्यस्तै कमल गाउँपालिका वडा नं. २ का वडा सदस्य महेन्द्र खत्रीका अनुसार वडा कार्यालयले प्रत्येक विद्यालयमा यस्ता स्वास्थ्य शिविर गर्दै आएको छ, जसले बालबालिका तथा अभिभावकलाई दन्त स्वास्थ्य जाँचमा सहजता पुर्‍याएको छ ।

कार्यक्रममा डा. सोफिया थुलुङ, डा. हाङमा माखिम लिम्बू, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो । कुल २७७ जना अभिभावक, शिक्षक र विद्यार्थीले शिविरबाट लाभ उठाएका थिए ।

अस्पताल प्रमुख दाहालले पछिल्लोसमय नानी बाबूहरुमा दात र मुखसम्बन्धि समस्याहरु बढ्दो अवस्थामा देखिएकोले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए ।

उक्त शिविर कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, समाजसेवी तथा पत्रकार अनिल देव राई, डिउ टिभीका प्रबन्धक निर्देशक कमल कटुवाल र विद्यालयका शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्