भ्रममा नपरौं । भ्रम तोडौं । महासंघको स्थापना दिवस बैशाख ९ गते नै हो |
कमन देवान याक्खा
नेपालमा पहिलो पटक श्रमजीबि पत्रकारहरुलाई संगठित गरी २००८ बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ्ले नेपाल पत्रकार संघ स्थापना गर्नुभएको हो । इतिहासको यसै गरिमा र विरासतको जगलाई टेकेर नेपाल पत्रकार महासंघ अहिले यहाँसम्म आइपुगेको छ ।
तर, नेपाल पत्रकार महासंघले संस्थापक र स्थापना मितिका सन्दर्भमा बेइमानी, पूर्वाग्रही र मिचाहा प्रवृत्ति दोहोर्याउँदै आएको छ । महसंघले पत्रकार संघको स्थापनामा कुनै भूमिका नै नगरेका कृष्णप्रसाद भट्टराईलाई अनावश्यक विवादमा ल्याएर वास्तविक संस्थापक श्रेष्ठमाथि अन्याय गरेको छ ।
महासंघको नेतृत्वमा नश्लीय चिन्तन हावी भएका कथित उच्च जातीय अहंकारबाट ग्रस्त टाउकाहरुको विद्यमानताका कारण नेपाल पत्रकार संघका संस्थापक सभापतिमाथि जोरजुलुम अन्याय, पक्षपात र हेला गरिएको छ । पत्रकारिता आवाजविहीनहरुको आवाज हो भनेर भट्याउन र लेख्न नछाड्ने, तर इतिहास र योगदानमाथि लादिएको अन्याय पनि अन्त्य गर्न नसक्ने नेपाल पत्रकार महासंघको द्वैध चरित्र कायमै छ ।
सन्दर्भ महासंघको स्थापना दिवसको । नेपाल पत्रकार महासंघको ७३ औँ स्थापना आउँदो बैशाख ९ गते हो । तथ्य र प्रमाणहरुले पुष्ठि गरेको यहि हो । त्यसैले, अहिले र आज ६९ औँ स्थापना दिवसको नाउँमा जुन झ्याली पिटिएको छ, त्यो चाहिँ एकादेशको छट्टु कालुले गाउँलेलाई दुख दिने मनसायले ‘बाघ आयो! बाघ आयो ! ! ‘ भनेर उल्याए जस्तो मात्रै हो । अन्तत: एक दिन वास्तवमै बाघ आयो र कालुका सबै बाख्रा बाघले खायो । तर, मद्दतका लागि गाउँले आएनन् । नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले कालुको कथालाई हेक्का राखोस् र उत्पट्याङ बन्द गरोस् । बाघ आउने दिन नजिँकिँदैछ ।
यस अगाडिका विभिन्न चरणमा प्राप्त तथ्यलाई सोपान गरी बिगतमा भएका गल्ती (नियतवस् (?) वा तथ्यहरुमा हेक्का नै नराखी) जसरी भएको भए पनि त्यसलाई सुधारेर नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने पर्याप्त तथ्य र स्रोत समेत उपलव्ध गराएर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पटक पटक आग्रह र अनुरोध गरेको थियो । त्यसलाई नजरान्दाज गरियो । फलत: हामीले गत माघमा पत्रकार महासंघको गलत रबैयाविरुद्ध भौतिक रूपमै आन्दोलित हुनुपरेको अपृय र वाध्यात्मक वस्ताविकता हामी सबैका सामु छ ।
हामीले अल्टिमेटमसहित महासंघलाई स्मरणपत्र पनि दिएका छौं । इतिहासको गल्ती नसच्चिए महासंघका केन्द्रदेखि जिल्लासम्मका सबै कार्यालय तालाबन्दी गर्ने हाम्रो आन्दोलन घोषणा भै कार्यान्वयनमा जाने चरणमा महासंघको केन्द्रीय बैठकले औपचारिक रूपमा नै संस्थापक अध्यक्ष बारेको वहसलाई वार्ता, छलफल गरि टुङ्ग्याउने निर्णय गरेको हुनाले हामीले सो निर्णयको सम्मान गरेर तत्काल आन्दोलनका कार्यक्रम स्थगित गरेका हौं । आन्दोलन फिर्ता भएको वा सकिएको छैन, महासंघलाई यसको हेक्का रहनुपर्दछ ।
त्यसैले, महासंघले पटक पटक इतिहास र तथ्यमाथि खेलवाड नगरोस् । बैशाख ९ मात्रै नेपाल पत्रकार महासंघको आधिकारिक र एक मात्र स्थापना दिवस हो । अरु भ्रम हुन् ।
लेखक फोनिज, सङ्घीय उपाध्यक्ष हुनुहुन्छ |



