दमकमा ‘पहाडे अर्गानिक भान्साघर’ र ‘हब’ सञ्चालनमा
दमक – झापाको दमक–५ स्थित मामाचोक नजिकै एकै स्थानबाट ‘पहाडे अर्गानिक भान्साघर’ तथा ‘पहाडे अर्गानिक हब’ सञ्चालनमा आएको छ। बिहीबार एक कार्यक्रमका बीच भान्साघर तथा हबको औपचारिक शुभारम्भ गरिएको हो।
होटल व्यवसायी महासंघ, कोशी प्रदेशका अध्यक्ष राजन दङ्गालले रिबन काटेर व्यवसायको उद्घाटन गर्नुभयो। सो अवसरमा अध्यक्ष दङ्गालले दमकमा अर्गानिक खानपानको बजारीकरण तथा प्रवर्द्धनका लागि शुभकामना व्यक्त गर्नुभयो।
मुख्य गरी पाँचथरको रवि क्षेत्रमा उत्पादित पहाडी अन्नपात, तरकारी तथा फलफूल उपलब्ध गराउने लक्ष्यका साथ व्यवसाय सुरु गरिएको सञ्चालक रबिन चाम्लिङ राईले जानकारी दिनुभयो। अर्गानिक हबमा सिस्नु, गुन्द्रुकदेखि विभिन्न ताजा सागसब्जी र फलफूल बिक्रीका लागि राखिएको छ भने भान्साघरमा स्थानीय तथा पहाडी परिकारहरू पकाइनेछ।
“पाँचथरको रविमा हुने स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै दमकवासी उपभोक्तालाई स्वस्थ, ताजा र गुणस्तरीय अर्गानिक खाना उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो,” सञ्चालक राईले भन्नुभयो।
उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य सङ्घकी कार्यसमिति सदस्य एवं अम्बिका माछा फ्राईकी सञ्चालिका डुका कुमाल, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।



