लागुऔषधविरुद्ध दमकमा ‘केहर एण्ड द लुङा’ सांगीतिक कार्यक्रम हुने

दमक । लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाको दमकमा ‘नशा मुक्त समाज, हाम्रो अभियान’ नारासहित सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

‘लागू औषध दुर्व्यसन विरुद्धको सचेतना अभियान–२०८३’ अन्तर्गत आगामी असोज ३१ गते शनिबार दमक नगरपालिका–७ स्थित पशुहाटको खुला प्राङ्गणमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम माङ्गगेन्ना पब्लिकेशन एण्ड मानुसी मिडिया हाउस, दमकको आयोजनामा हुने जनाइएको छ।

कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार तथा गायक केहेरसी लिम्बू एण्ड द लुङा ब्यान्ड, कलाकार तथा गायक अशोक दर्जी, कलाकार गंगु क्षेत्री तथा FDC 4K Dance Crew लगायत स्थानीय कलाकारहरूको सांगीतिक तथा सचेतनामूलक प्रस्तुति रहने आयोजकले जनाएको छ।

लागुऔषध दुर्व्यसनको बढ्दो समस्या न्यूनीकरण गर्दै युवापुस्तालाई कुलतबाट जोगाउने, लागुऔषधमुक्त समाज निर्माणमा जनचेतना अभिवृद्धि गर्ने तथा दुर्व्यसनमा परेका व्यक्तिलाई समाजमा पुनःस्थापित गर्न सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार सांगीतिक कार्यक्रममार्फत युवालाई कुलतबाट टाढा राख्दै सकारात्मक सोच, स्वस्थ जीवनशैली, सिर्जना र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने प्रयास गरिनेछ। कार्यक्रममा लागुऔषधको कुलतबाट मुक्त भई सामान्य जीवनमा फर्किएका व्यक्तिहरूले आफ्ना अनुभवसमेत प्रस्तुत गर्ने बताइएको छ।

विश्वव्यापी रूपमा जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारप्रसारविरुद्ध दिवसका रूपमा मनाइँदै आएको सन्दर्भमा अभियानलाई निरन्तरता दिँदै कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक दिल कुमार लावतीले लागुऔषधविरुद्धको अभियानमा सञ्चारमाध्यम, प्रहरी, विद्यालय, अभिभावक तथा स्थानीय समुदायको सामूहिक भूमिका महत्वपूर्ण हुने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्