पहिलो पाइला नेपाल कमल शाखाद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
कमल । पहिलो पाइला नेपाल कमल शाखाले कमल–५, स्थित पाडाजुङ्गीमा हिजो (मंगलबार) दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ २३ गते आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू तथा भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झना र सम्मानमा दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। विपद् तथा सामाजिक घटनामा ज्यान गुमाएकाहरूको स्मरण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पहिलो पाइला नेपाल कमल शाखाकी अध्यक्ष सञ्जु निरौलाले बताउनुभयो ।
कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, पहिलो पाइला नेपालका केन्द्रीय सचिव दिवस खतिवडा, पहिलो पाइला नेपाल गौरादह शाखाका सचिव प्रदीप धमला लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै विभिन्न सामाजिक संघ–संस्था, सहकारी क्षेत्र, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले विपद्मा ज्यान गुमाएकाहरूको स्मरणसँगै सामाजिक एकता, सहकार्य र मानवीय संवेदनाको सन्देश दिएको पहिलो पाइला नेपाल गौरादह शाखाका सचिव दिपेन्द्र खतिवडाले बताउनुभयो ।।



