इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको ३०औँ वार्षिक साधारणसभा सम्पन्न
कमल । झापाको कमल गाउँपालिका–७, गेउरीया स्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कपिलप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा झापा जिल्ला सहकारी संघका सदस्य नारायणप्रसाद गौतम, सहकारी समन्वय समिति अध्यक्ष प्रमोदकुमार दाहाल, संस्थाका पूर्वअध्यक्षहरू, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा पूर्वसंयोजक, सिंहदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष अकलबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए। सिंहदेवी आधारभूत विद्यालयका छात्राहरूले राष्ट्रिय भाव झल्किने गीतमा प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष कपिलप्रसाद आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक हरिप्रसाद पौडेलले प्रस्तुत गरेका थिए भने स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन संस्थाका व्यवस्थापक खगेन्द्रप्रसाद भण्डारीले सभामा प्रस्तुत गरेका थिए।
वि.सं. २०५३ सालमा १६१ जना सदस्यबाट १६ हजार एक सय चुक्ता पुँजी संकलन गरी सुरु गरेको सहकारीमा हाल १०४९ जना महिला र ७८४ जना पुरुष गरी १८४० जना शेयर सदस्य रहेका छन् ।
प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पुँजी ३ करोड ९६ लाख ६८ हजार ७ सय रुपैयाँ रहेको छ भने संस्थाको बचत संकलन ३१ करोड ८४ लाख १६ हजार २ सय ५७l१२ रुपैयाँ रहेको छ ।
साधारणसभामा सञ्चालक समिति, सल्लाहकार समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका सदस्यहरू, व्यवस्थापकसहित कर्मचारी र संस्थाका करिब ६९ प्रतिशत सदस्यहरूको सहभागिता रहेको छ।
आ.व. २०८२/०८३ को खुद बचतबाट बाँडफाँड गरिएको रकम मध्येबाट सदस्यहरुलाई शेयर लाभांश बापत जम्मा ४० लाख ६९ हजार ९५५।५५ रुपियाँ वितरण गरिने साथै सदस्यको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट २७ लाख ३१ हजार ५ सय १३।७९ रुपैयाँ समानुपातिक हिसाबले वितरण गरिने संस्थाका अध्यक्ष कपिल प्रसाद आचार्यले बताउनुभयो ।
सभामा प्रस्तुत विभिन्न प्रतिवेदनहरू पारित गर्दै ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीले आगामी दिनमा संस्थाको सेवा तथा गतिविधिलाई थप प्रभावकारी बनाउँदै सदस्यको हितमा केन्द्रित भएर अघि बढ्ने जनाएको छ।



