कमल–५ मा स्वास्थ्य सेवा सुदृढीकरण तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

कमल । कमल गाउँपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पाडाजुङ्गीमा स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले न्यूनतम सेवा मापदण्ड (MSS) अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर विष्ट (एल.वि. विष्ट) को अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष विष्टले कार्यक्रमको ब्यानर वाचन गरी औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन सी.अ.हे.व अधिकृत तथा सामुदायिक स्वास्थ्य इकाइ कमल–५ सिम्लेका प्रमुख डम्बर बहादुर श्रेष्ठ ले गर्नुभएको थियो । कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–५ का व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, सी.अ.हे.व अमृत बहादुर सुब्बा, फेयरमेडबाट निकिता श्रेष्ठ, अन्य स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

अभिमुखीकरण तथा समीक्षा कार्यक्रममा अघिल्लो आर्थिक वर्षको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनको समीक्षा गर्दै चालु आर्थिक वर्षको प्रगति, सूचक तथा सेवा मापनको तुलना गरिएको थियो। कार्यक्रममा स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने पक्ष, सेवाको गुणस्तर अभिवृद्धि, व्यवस्थापन प्रणाली सुदृढीकरण तथा आगामी कार्ययोजनाका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

यसैबीच, सोही अवसरमा कमल गाउँपालिका वडा नम्बर ५ भित्रका विपन्न सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण कार्यक्रम पनि सम्पन्न गरिएको छ। वडा अध्यक्ष लाल बहादुर विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा भित्रका १० जना विपन्न सुत्केरी महिलालाई पोषण सामग्री हस्तान्तरण गरिएको थियो।

वडा अध्यक्ष विष्टले कमल गाउँपालिकाले सञ्चालन गरिरहेका यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमबाट विशेषगरी विपन्न, अल्पसंख्यक तथा जोखिममा रहेका समुदायले प्रत्यक्ष लाभ लिनुपर्ने बताउनुभयो। उहाँले सुत्केरी महिलाको स्वास्थ्य तथा पोषण अवस्थालाई सुधार गर्न पोषणयुक्त सामग्री वितरण गरिएको जानकारी दिनुभयो।

वितरण गरिएको पोषण सामग्रीमा घ्यू, अण्डा, आयोडिनयुक्त नुन, दाल, चामल तथा खाने तेल लगायतका सामग्री समावेश रहेको थियो।

कार्यक्रमले स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधारसँगै मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्