कुपोषणविरुद्ध कमलको अभियान : घरघरमै पुग्दै स्वास्थ्य टोली, बालबालिकाको पोषण जाँच तीव्र

झापा – बालबालिकाको पोषण अवस्था पहिचान तथा सुधार गर्ने उद्देश्यले कमल गाउँपालिकामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरिएको छ। नेपाल सरकारको देशव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त अभियान गाउँपालिकाका सबै सातै वडामा एकैसाथ अघि बढाइएको हो।

अभियान सुरु गर्नुअघि स्वास्थ्यकर्मीहरूलाई दुई दिने तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एक दिने अभिमुखीकरण प्रदान गरी दक्ष बनाइएको थियो।

कमल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको यस अभियानमा सुनौलो हजार दिनका आमासहित बालबालिकाको पोषण अवस्था पहिचान गरिनेछ। अभियान अन्तर्गत बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि (MUAC) मापन गरी पोषण अवस्था निर्धारण गरिने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार अभियानमार्फत ६ महिनादेखि ५९ महिनासम्मका करिब ४ हजार बालबालिका तथा करिब १ हजार ४ सय आमाहरूको पोषण परीक्षण गर्ने लक्ष्य राखिएको छ। वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने यस अभियानले कुपोषणको शीघ्र पहिचान गरी समयमै उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

अभियानका क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत घरघर तथा टोलटोलमा पुगेर बालबालिकाको पाखुराको परिधि मापन गरिनेछ। साथै, कुपोषित बालबालिकाका अभिभावकलाई बहिरङ्ग सेवामार्फत तयारी उपचारात्मक खानाको विधिबारे जानकारी प्रदान गरिनेछ।

नेपाल सरकारको योजना अनुसार अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूबाट सञ्चालन भइरहेको छ।

कमल–२ मा पहिलो दिन ३० बालबालिकाको परीक्षण

यसैक्रममा अभियानको पहिलो दिन कमल गाउँपालिका–२ नं वडाको मिलन टोलमा स्क्रिनिङ्ग शिविर सञ्चालन गरी ५ वर्ष मुनिका ३० जना बालबालिकाको पोषण लेखाजोखा गरिएको छ।

शिविरमा सी.अ.न.मी. निरीक्षक गीता मगराती र अ.न.मी. झुमादेवी ढुङ्गानाको सक्रिय सहभागिता रहेको थियो भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उषा दाहालले समुदायस्तरमा सहजीकरण गर्नुभएको थियो।

अन्य स्वास्थ्य संस्थाहरूले पनि भोलिदेखि अझ व्यापक रूपमा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्