कमल गाउँपालिकाद्वारा दुई विद्यालयमा निःशुल्क विद्यार्थी स्वास्थ्य परीक्षण सम्पन्न

कमल । झापाको कमल गाउँपालिका–२ वडा कार्यालयको मासिक विद्यार्थी स्वास्थ्य कार्यक्रमअन्तर्गत शुक्रबार श्री ज्योति माध्यमिक विद्यालय, भुत्लुङ्ग र श्री इन्द्र लोहनी स्मृति विद्यालय, देविचौनका विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ ।

कार्यक्रममा मेची आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो। विद्यार्थीहरूको आँखा परीक्षण, स्वास्थ्य परामर्श, आवश्यक औषधी वितरण तथा चश्मा उपलब्ध गराउने कार्य अस्पतालकै टोलीद्वारा निःशुल्क रूपमा सम्पन्न गरिएको हो ।

श्री ज्योति माध्यमिक विद्यालयमा स्वास्थ्य परीक्षण

श्री ज्योति मा.वि.मा ३२० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएकोमा ७ जनालाई निशुल्क औषधी वितरण गरिएको र ४ जनालाई थप उपचारका लागि आँखा अस्पताल रिफर गरिएको छ भने ६ जनालाई चश्माको शिफारिस गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक खड्काले जानकारी दिनुभयो ।

इन्द्र लोहनी आधारभूत विद्यालयमा आँखा स्क्रिनिङ

इन्द्र लोहनी आधारभूत विद्यालयमा ६८ जना विद्यार्थीको परीक्षण गरिएकोमा १ जनालाई औषधी आवश्यक भएकाले औषधि सिफारिस गरिएको छ भने २ जनालाई थप उपचारका लागि मेची आँखा अस्पताल रिफर गरिएको छ । साथै ४ जनालाई चश्मा आवश्यक देखिएकाले चश्मा सिफारिस गरिएको विद्यालयका सह–प्रधानाध्यापक भुमिका चापागाईंले जानकारी दिनुभयो।

नियमित आँखा परीक्षण कार्यक्रम निरन्तर

कमल गाउँपालिकाका सबै विद्यालयमा क्रमबद्ध रूपमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्दै जाने र समस्या देखिएका विद्यार्थीलाई निःशुल्क चश्मा, औषधी तथा परामर्श प्रदान गरिने मेची आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत पुष्प अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्