कमलमा फाल्गुन महिनाको विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्नः १८४ विद्यार्थी लाभान्वित

कमल, २७ फागुन – बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै झापाको कमल गाउँपालिका वडा नं. २ मा निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक सल्लाह तथा उपचार सिफारिस गरिएको छ।

कार्यक्रमको बारेमा कमल–२ का कार्यबाहक वडा अध्यक्ष भीमसिंह कार्कीले बालबालिकाको स्वास्थ्य परीक्षणलाई नियमित प्रक्रिया बनाउँदै भविष्यमा अझ प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो भए मात्रै उनीहरूको अध्ययन प्रभावकारी हुने भएकाले विद्यालय स्तरमै नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो।

स्वास्थ्य परीक्षणमा १८४ विद्यार्थी लाभान्वित

यस स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत कमल–२ का निजी तथा सरकारी विद्यालयका १८४ जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ।

नियमित मासिक स्वास्थ्य परीक्षण कार्यक्रम कमल नगर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक दीपक दाहाल र सि.अ.न.मि. निरीक्षक विनुता सङ्ग्रौलाले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । साथै, वडा प्रतिनिधि महेन्द्र अधिकारी तथा सम्झना रणपहेलीले सहजीकरण गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

वडा प्रतिनिधिहरूको सक्रिय भूमिका

कार्यक्रमलाई सफल बनाउन कमल–२ का वडा अध्यक्ष अशोक सुब्बा, वडा सदस्यहरू लगायत सम्पूर्ण जनप्रतिनिधिहरूले उल्लेखनीय योगदान गर्नुभयो।
वडा सदस्य महेन्द्र खत्रीले विद्यार्थीहरूको स्वास्थ्य अवस्थाको पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराइएको जानकारी दिनुभयो। वडा सदस्य कल्पना राईले विद्यालयमा नियमित स्वास्थ्य परीक्षण गराउँदा विद्यार्थीहरूको समग्र शारीरिक र मानसिक स्वास्थ्य सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा वडा सदस्य सम्झना रणपहेलीले बालबालिकाको स्वास्थ्यमा ध्यान दिनु प्रत्येक अभिभावक र विद्यालयको साझा दायित्व भएको बताउँदै विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा स्वास्थ्यकर्मीहरूबीच अझ राम्रो समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्य आवश्यक

स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता अनिवार्य रहेको कमल–२ का वडा सचिव सागर दाहालले बताउनुभयो। उहाँका अनुसार, स्वास्थ्य परीक्षण कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य समस्या पहिचान गरी आवश्यक परामर्श तथा उपचारको व्यवस्था गरिनु अत्यन्त महत्वपूर्ण छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, कमल नगर अस्पताल, वडा नं. २ का जनप्रतिनिधिहरू, शिक्षक, कर्मचारी, अभिभावक तथा सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गर्दै वडा सचिव सागर दाहालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वस्थ विद्यार्थी, उज्ज्वल भविष्य!

बालबालिकाको स्वास्थ्य नै उज्ज्वल भविष्यको जग हो। विद्यालय तथा स्वास्थ्य संस्थाहरूबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले बताउनुभयो ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वास्थ्य समस्याको पहिचान, परामर्श तथा उपचारको पहुँच दिलाएको छ। अभिभावक, शिक्षक, विद्यालय प्रशासन र स्वास्थ्यकर्मीहरूको निरन्तर सहकार्य भएमा विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गरी उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ।

श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चाम्लिङ्गले यस कार्यक्रमलाई भविष्यमा अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिनु पर्ने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्