कमल-२ मा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम

कमल, २६ फागुन – झापाको कमल गाउँपालिकाको वडा नं. २ मा रहेका श्री ज्योति माध्यमिक विद्यालय, श्री इन्द्र लोहनी स्मृति विद्यालय तथा श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम कमल नगर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक दीपक दाहाल र सिनियर अनमि निरीक्षक विनुता सङ्ग्रौलाको नेतृत्वमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक सल्लाह तथा उपचार गरिएको छ।

कार्यक्रमबारे वडा नं. २ का कार्यबाहक वडा अध्यक्ष भीमसिंह कार्कीले बालबालिकाको स्वास्थ्य सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। उहाँका अनुसार, विद्यार्थीहरूको स्वस्थ भविष्य सुनिश्चित गर्न विद्यालय स्तरमै स्वास्थ्य जाँचको प्रबन्ध गर्नुपर्छ, जसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा टेवा पुर्याउनेछ ।

उक्त स्वास्थ्य परीक्षण कार्यक्रम भोलि पनि जारी रहनेछ, जसअन्तर्गत नवोदय विद्या सदन, पाथिभरा बोर्डिङ स्कुल तथा श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा स्वास्थ्य परीक्षण गरिनेछ।

यस स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, अभिभावक, तथा विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको वडा नं. २ का वडा सदस्य कल्पना राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्