सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा आजदेखि सुरु

दमक – झापाको दमक-६ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (आइतबार) १५ औं वार्षिक साधारणसभा सुरु गरेको छ ।

संस्थाको आफ्नो सभाहलमा भब्य समारोहबीच औपाचारिक रुपमा कार्यक्रम गरि इकाईगत वार्षिक साधारणसभा सुरु गरिएको र इकाईगत रुपमा सम्पन्न गरिदै लैजाने संस्थाका प्रवन्धक निर्देशक अरुण भण्डारीले बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभाको उद्घाटन भएको थियो ।

इकाईगत साधारणसभाको उदघाटनमा संस्थाका अध्यक्ष सापकोटाले आर्थिक वर्ष २०८०/८१ मा भएका गतिविधिहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तैं, लेखा सुपरीक्षण समितिको तर्फबाट संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

त्यस्तैं, ६ हजार ९ सय ९४ जना सेयर सदस्य रहेको सो सहकारीको १७ करोड ६९ लाख ४१ हजार १०० रुपैया चुक्ता सेयर पूजी पुगेको छ। त्यस्तैँ कुल बचत १ अरब ७७ करोड ६४ लाख ८२ हजार ८५८ रुपैयाँ, कर्जा लगानी १ अरब ७३ करोड ३७ लाख ७१ हजार ७३१ रुपैया, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारीले गएको वर्ष कुल आम्दानी २६ करोड ६० लाख ७४ हजार ४१६ रुपैया आर्जन गर्न सफल भएको छ।

जसमा आज दमक १, ८, ९ र १० मा भएका सेयर सदस्यहरुको सहभागितामा इकाईगत वार्षिक साधारणसभा सञ्चालन गरिएको हो । यस्तै भदौ २४ गते सोमबारका दिन दमक ४,५ र ६ का यसैगरी २५ गते दमक २,३ र ७ नम्बर वडाका सेयर सदस्यहरुको उपस्थितिमा इकाईगत वार्षिक साधारणसभा सञ्चालन गरिने संस्थाका प्रवन्धक निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

संस्थाको १५औं वार्षिक साधारणसभाको माइनुट लेखन र हस्ताक्षर भदौ २६ गते बुधबार सम्पन्न गरिने संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिए ।

साधारणसभामा दमक-६ का वडा अध्यक्ष टेक बहादुर थापा, डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा, शेयर सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

वार्षिक साधारणसभाको सञ्चालन सहकारी संस्थाका बजार शाखा प्रमुख राजकुमार खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्