जीवनोपयोगी शिक्षा र सिकाइ स्रोतकेन्द्रका रूपमा सामुदायिक विद्यालयलाई विकास गर्नुपर्छ

युवराज बास्कोटा

आफू कार्यरत विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठन गर्न गराउन अभिप्रेरित नहुनु वा पढाइ आरम्भका लागि दाखिला नगर्नु वा नगराउनु भनेको स्वयंप्रति अविश्वास मात्र होइन, नैतिक जवाफ अभाव पनि होइन र ? सोचौँ त– यही वस्तुस्थिति संस्थागत विद्यालयमा हुन्थ्यो भने सहन सक्ने थियो त्यो विद्यालयले ? सामुदायिक विद्यालय चाहिँ किन स्वयंबाट पटकपटक हेलाँ, अपहेलना र उपेक्षाको शिकार ? स्वयंमा विश्वास गरौँ ! हिनताबोधलाई उछिन्दै परस्पर हामी सबैले अग्रसरता लिऔँ !!
शैक्षिकसत्र २०८१ को भर्ना अभियान आरम्भ भएको छ । नगरपालिकाले तय गरेको शैक्षिक कार्यक्रम र कार्यतालिकाअनुसार श्री पञ्चायत माविलगायत सामुदायिक विद्यालयको नियमित पठनपाठन कार्य प्रारम्भ हुने भएको छ ।

समयपूर्व नै तपाई अभिभावकजनमा विशेष अनुरोध
१) विद्यार्थी भाइबहिनीलाई विद्यालय पोशाकको अनिवार्य व्यवस्था गरेर पठाइ दिनुहुनेछ,
२) विद्यालयले तय गरेको ब्याग, जुत्ता, टाइ, बेल्ट, रिबन अनिवार्य व्यवस्था गरेर मात्रै आफ्ना बालबालिकालाई विद्यालय पठाइ दिनुहुनेछ,
३) पुरानो भए केही फरक पर्दैन, साफसुथ्रा चाहिँ हुनुपर्छ । नयाँ किन्नुपर्ने भए विद्यालयको आचरणलाई ध्यान दिएर उपलब्ध गराइदिनु हुनेछ,
४) पाठ्यपुस्तक विद्यालयले नै उपलब्ध गराउने छ । यससँग सम्बन्धित अन्य स्टेसनरी सामग्रीहरू ब्यागमा सुरक्षित ढंगले राखेर पठाउनु हुनेछ,
५) कक्षा १ देखि ५ बाहेकका आफ्ना बालबालिकालाई सकेसम्म घरबाट नै खाजा बनाएर ल्याउने, स्नेहमिश्रित अभिभावकको उपस्थितिमा खुवाउने र चाहेअनुरुपको शुद्धता र सफा खाजा पठाएर सहयोग गरिदिनु हुनेछ,
६) विद्यार्थीको पहिचानको पहिलो गहनास्वरूपको श्रृंगार नै अनुशासन भएकोले आफ्ना बालबालिकालाई अनुशासित वन्ने प्रेरणासहित विद्यालय खुशीसाथ आउने वातावरण बनाएर पठाइ दिनुहुनेछ,
७) विद्यालय आउने बाटोमा यातायात साधनमा पनि टिफरलगायतका सवारी साधनको चाप हुने भएकोले लाइनमा साथीहरूसँग एकाकारित रहँदै साइडबाट मात्र हिड्न र जेब्रा क्रसिङमार्फत बाटो काट्न सुझावसहित विद्यालयमा पठाइ दिनुहुनेछ,
८) विद्यालयबाट घर फर्केपछि विद्यालयमा बितेको उसको समयको बारेमा चासो लिँदै गृहकार्यलगायतका कतिपय क्रियाकलापमा सहजीकरण गरिदिनु हुनेछ,
९) समयसमयमा विद्यालय आएर विद्यालयको अपेक्षा र आफ्ना बालबालिकाको विकासको उद्देश्यअनुरुपका विषयोपर सहयोगस्वरुप रचनात्मक रायसुझाव दिनुहुनेछ ।

लेखक श्री पञ्चायत माविलगायत सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्