छर्नभर्न खोजिएको भ्रम र यथार्थ
युबराज बास्कोटा
सामुदायिक विद्यालयले समुदायको अपेक्षाअनुरुप तिनको पहुँचमा आधारित पठनपाठनको व्यवस्था गर्ने हो । अहिले कतिपय व्यक्ति वा संस्थाले अमुक–अमुक माविले प्रकाशक र पाठ्यपुस्तकमा फेरबदल ल्यायो, यो काम लाग्दैन । पठनपाठनको सहयोगी सामग्री छैन । यसमा कुनै यथेष्ट सन्दर्भ पनि छैन । यो पुरानो, कमजोर र अनुवादित पाठ्यपुस्तक हो । यो पढेर बालबालिका अपेक्षित सुदृढ बन्न सक्दैनन् आदि–आदि ढंगले सामुदायिक विद्यालयप्रतिको बढ्दो मोहलाई धमिल्याउन खोजेको देखिन्छ । बजारमा अनाहक कुप्रचार गर्न खोजिएको बुझिन्छ ।
मैले बुझेसम्म वस्तुस्थिति के हो भने ,
- सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आफैंमा नाफा र मुनाफाबीचको मिलेमतो हुँदैन बरु विषयविज्ञ र गहन अनुसन्धानकर्ताको खोजमा आधारित सामग्रीको जोहो गरिएको हुन्छ ।
- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आन्तरिक व्यवस्थापनमा प्रश्न उठ्ने गरेको छैन, विश्वास र भरोसायोग्य रहँदै आएको छ ।
- शिक्षा क्षेत्रमा देखिएका/नदेखिएका र भेटिएका/नभेटिएका सत्यतथ्य घटना सन्दर्भहरूको अध्ययन, खोजमूलक प्रस्तुतिकरण र निष्पक्ष विश्लेषणमा आधारित हुन्छ ।
- विद्यार्थी भर्ना भएकै दिन विद्यालयबाट सरकारले तयार पारेको पाठ्यक्रमअनुरुपका पाठ्यपुस्तकहरू हात पार्नेछन् ।
- पाठ्यक्रम विकास केन्द्रले जारी गरेको पाठ्यपुस्तकको अध्ययनबाट सरकारको सेवा क्षेत्र वृद्धि–विकास हुन्छ ।
- पाठ्यक्रम विकास केन्द्रको वैभसाइडमा पाठ्यक्रम र पाठ्यपुस्तकहरू राखिएको हुन्छ । फलस्वरुप, कतिपय बखतमा पाठ्यपुस्तक नभए पनि पाठ्यक्रम हेरेर पठनपाठन गर्न गराउन सकिन्छ ।
- प्रविधिको उच्चतम विकासको यो समयमा मन्त्रालयले अध्ययन अध्यापनका लागि प्रयोगमा ल्याएको आमसञ्चार, टेलिभिजन, ट्विटर, फेसबुक, इन्स्टाग्राम आदि प्लेटफर्ममा कतिपय सामग्रीहरू उपलब्ध हुने गरेकाछन् ।
- सरकारी विद्यालयमा सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्देशित पठनपाठन गर्नु गराउनु तर्क र युक्तिसंगत हुन्छ |
- सरकारले उपलब्ध गराएको पठनपाठन सामग्री बालबालिकाको हात लागेसँगै प्रत्येक अभिभावकले पाउनुपर्ने सहुलियत अर्थात निः शुल्क पुस्तक उपलब्ध भएको हुन्छ |
- तहगत हिसावले जुन कुनै कक्षा परीक्षाका लागि परीक्षा बोर्डले बनाउने प्रश्नपत्रमा प्रश्नको छनौट र निर्धारण समन्वयात्मक र एकरुपतामा आधारित हुन्छ |
- अध्ययन अनुसन्धानको अतिरिक्त प्रयोग र थप प्रयोगमा आधारित प्रयासलाई सम्मान गर्दै खोज कार्यमा संलग्नता अभिवृद्धि गर्नका लागि पनि यो व्यवस्थापन सर्वोत्तम हुन्छ ।
हाम्रा आफ्ना बालबालिकालाई पढाउनु भनेको कसैको व्यापार–व्यवसायलाई प्रवर्धन गर्नु होइन । कसैको रुचि र अभिरुचिको घोडा बन्नु होइन । कुनै भ्रममा नरहौँ ! अतिरिक्त क्रियाकलापमा आधरित पठनपाठनको मौलिकस्वरुप वृद्धि–विकासमा लागौँ !!



