तेस्रो उद्योग वाणिज्य कप २०८२ को उपाधि निर्माण व्यवसायी संघलाई
दमक, ६ भाद्र – दमक उद्योग बाणिज्य संघले आफ्नो ३५ औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिता ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि निर्माण व्यवसायी संघले हात पारेको छ । निर्माण व्यवसायीले मोबाइल व्यवसायीलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै विजेताले नगद ३३ हजार तनि सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । त्यस्तै, उपविजेता बनेको मोबाइल व्यवसायी संघले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दमक-५ स्थित बिष्ट फुटसल कोर्टमा बिहीबार र शुक्रबार सञ्चालित सो प्रतियोगिताको अनुशासित टिम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ घोषित भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी निर्माण व्यवसायी संघका लेलेन सुब्बा, उत्कृष्ट गोलकिपर निर्माण व्यवसायीतर्फकै दिपेन थापा, हाई स्कोरर मोबाइल व्यवसायी संघका शरण राई घोषित भए । उत्कृष्टले नगद २५ सय र अन्यले नगद दुर्य हजार दुई सय २२ प्राप्त गरेको दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् खेलकुद उप समिति संयाजक तुलसीराम तिम्सिनाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी अन्य वस्तुगत संघतर्फ जुत्ता चप्पल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ, रेडिमेट कपडा व्यवसायी संघ, किराना तथा खाद्यान्न व्यवसायी संघ, होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ र अटोमोबाइल व्यवसायी संघ रहेका थिए ।
प्रतियोगिताको उद्घाटनमा वाणिज्य संघ र पत्रकार मञ्च दमकबीच मैत्रीपूर्ण खेल भएको थियो ।
मैत्रीपूर्ण खेलमा पत्रकार मञ्च ४–१ गोल अन्तरले विजयी भएको थियो । विजेता टिमलाई वाणिज्य संघका अध्यक्ष गोपाल गुराँगाईले ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष गुराँगाईले कार्य व्यस्तता भए पनि स्वाथ्यलाई ध्यानमा राखेर व्यवसायीले खेलकुदमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । उनले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।



